काठमाण्डौ, भदौ ७ । कैलालीको टीकापुरमा थरूहट आन्दोलनका क्रममा भएको हिंसामा नेपाल प्रहरीका एसएसपीसहित ७ जना प्रहरी र एक बालक सहित आठ जनाको मृत्यू भएको छ । पहिले २१ जना सुरक्षाकर्मी मारिएको खबर आएपनि कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले त्यसलाई सच्याउँदै आठ जनाको मृत्यू भएको पुष्टि गरेका हुन् । नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट, केशव बोहरा र प्रहरी जवानद्वय लोकेन्द्र चन्द र लक्ष्मण खड्काको आन्दोलनकारीको आक्रमणमा मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । दुई वर्षीय बालक टेकबहादुर साउदको पनि मृत्यु भएको उनले बताए ।
त्यस्तै सशस्त्र प्रहरीको उग्रतारा गण टीकापुरमा कार्यरत हवल्दार ललित साउद र रामविहारी थारू पनि मारिएका छन् । सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी पुष्पराम केसीले पनि सशस्त्र प्रहरी तर्फ दुई जना मारिएको पुष्टी गरेका छन् । तर अहिले पनि मृतकको संख्याका विषयमा अहिले पनि अन्यौल छ । सरकारी स्रोतहरुले नै फरक फरक आँकडा दिएका छन् । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले घटनामा १७ प्रहरी र तीन आन्दोलनकारी मारिएको बताएका छन् । मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा ढकालले पनि मृतकको संख्या निश्चित भइनसकेको बताएका थिए। घटनामा २१ जना सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरू घाइते भएका छन् ।
कैलालीको निर्वाचन क्षेत्र नम्बर–३ को शंकरपुर भन्ने ठाउँमा हिंसात्मक घटना भएको हो । त्यो क्षेत्रका निर्वाचित सभासद मधेशी जनअधिकार फोरम (लोकतान्त्रीक) का महासचिव रामजनम चौधरीले गोली लागेर २४ जना आन्दोलनकारी घाइते भएको बताए । टीकापुर नगरपालिका र आसपासका गाविसमा रहेका सरकारी कार्यालयमा थारुहट/थारुवान स्वायत्त प्रदेशको बोर्ड लेख्न हिँडेका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा दुखद घटना हुन पुगेको उनको भनाई छ । by everest dainik


No comments:
Post a Comment