Saturday, 22 August 2015

ग्रीन कार्ड र पिआर लिने उच्च ओहोदाका भगौडा हुन् : मन्त्री पण्डित



 ६ भदौ, भक्तपुर । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ग्रीन कार्ड र पिआर लिने नेता तथा कर्मचारीहरूलार्इ उच्च ओहोदाका भगौडाको संज्ञा दिएका छन् । नेपालको माया नभएर ग्रीन कार्ड र पिआर लिएको उनले बताए ।
मध्यपुरथिमिस्थित बाबा बचत तथा ऋण सहकारी संस्थाको १०औँ वार्षिक साधारणसभामा मन्त्री पण्डितले आज ‘नेपाल र नेपाली हुँ’ भन्ने बिर्सेर विदेश जानेले उतै आफ्नो पहिचान खोज्न थालेको बताए ।
देशको प्रधानमन्त्री, प्रधानन्यायाधीश, मुख्यसचिव भइसकेका र राजनीतिकर्मीसमेत भगौडाको सूचीमा परेको आफूले पाएको भन्दै उनले भने, “ग्रीनकार्ड एवम् पिआर लिएका यस्ता थुप्रैले मलाई आँखाका कसिङ्गर देखेका छन्, तर यी नेपालका कसिङ्गरलाई म आफैँ बढार्नेछु ।”
ग्रीन कार्ड, पिआर लिएर देशको प्रशासनिक क्षेत्र, सुरक्षा अङ्ग, आर्थिक क्षेत्रमा बसेकाले देशलाई माया नगरी देशको पसिनाबाट तलब खाएर बसेको देशको दुश्मन भएको टिप्पणी गरे ।
संविधानको धारा २८३ मा देशको कुनै पनि ओहोदामा बसेकाले ग्रीनकार्ड एवम् पिआर लिन नपाउने व्यवस्था गरिएको उनले बताए । मन्त्रालयमा आएर टाउकामा हात राखेर मैले ग्रीन कार्ड लिएको छैन भन्नेले विदेश गएर सुटुक्क राजीनामा पठाएको भन्दै उनले कतिपय राजस्व, भन्सार कार्यालय यस्ता पिआरधारी कर्मचारी भारतबाटै भागेर अमेरिका पुगेको बताए । अनलाईन।।।

No comments:

Post a Comment