Friday, 28 August 2015

टीकापुरमा दुई हवल्दारलाई जलाएर मारेको प्रमाण भेटियो (फोटो फिचरसहित)

एसएसपीसहितलाई लखेटी लखेटी मारे : प्रत्यक्षदर्शी


Tikapur-kailali (1)
– दीपक ओली
स्रोत-दैनिक नेपाल>>> टीकापुर, ११ भदौ । पाँच दिनअघिको हिंसात्मक घटनापछि तनावग्रस्त टीकापुरको अवस्था अझै सामान्य भएको छैन । नेपाली प्रहरीका सेती अञ्चल प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएपछि आक्रान्त भएको टीकापुर लगायत आसपासका क्षेत्रमा लगातार पाँच दिनदेखि स्थानीय प्रशासनले २४ घण्टे कफ्र्यू लगाएको छ ।
सोमबार थरुहट पक्षधरको आक्रमणबाट अस्तब्यस्त भएको टीकापुर लगायत आसपासको क्षेत्रलाई दंगाग्रस्त घोषणा गरी नेपाली सेना परिचालन गरिएको छ । लगातारको कर्फ्युले स्थानीयहरु घरभित्रै बस्न बाध्य छन् । नौ जनाको ज्यान जाने गरी भएको घटनाको पछिल्लो दिन अर्थात् मंगलबार आक्रोशित समुहले टीकापुर बजारमा आगजनी र तोडफोड गरेपछि टीकापुरको माहोल थप आक्रान्त बनेको स्थानीयको भनाई छ ।
सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी माधव नेपालले टीकापुरको दैनिक जनजीवन सहज बनाउने सबै पक्षसँग छलफल भइरहेको बताए । अवस्था सहज हुने बित्तिकै क्रमशः कर्फ्यु समय र कर्फ्यु लगाउने क्षेत्र घटाइने छ डीआईजी नेपालले भने ।
दंगाग्रस्त लगायत जिल्लाका अन्य क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैथान गरी सर्वसाधारणको दैनिकी सहज बनाउन प्रयास भइरहेको छ । एक/दुई दिनमा सबै ठीक हुने डीआईजी नेपालको भनाई छ ।
यसैबीच, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलिप रेग्मी, गृहमन्त्रालयका प्रबक्ता लक्ष्मीप्रसाद ढकाल सहितको टोलीले बिहीबार टीकापुर आएर घटनास्थलको निरीक्षण तथा प्रत्यक्षदर्शीसँग कुराकानी गरेको छ ।
उच्च प्रहरी अधिकारी टोली समक्ष प्रत्यक्षदर्शीहरुले एसएसपी न्यौपाने, प्रहरी निरीक्षकद्वय केशव बोहरा र बलराम बिष्ट, हवलदार लक्ष्मण खड्का, जवान लोकेन्द्र चन्द, सशस्त्र प्रहरीका हवलदार ललित साउद र जवान रामबिहारी चौधरीलगायतलाई आक्रमणकारीले लखेट्दै घेराबन्दी गरेर भाला, लाठी, ढुंगामुढाले लगायतले मारेको देखेको बताएका थिए ।
एसएसपी न्यौपाने आक्रमणकारीको घेराबाट भाग्दै नजिकैको स्थानीयको घरमा लुकेको अवस्थामा घरबाटै बाहिर ल्याई भाला र लाठीले मारेको प्रत्यक्षदर्शीको भनाई थियो ।
यसैगरी, एसएसपी न्यौपानेको हत्या गरिएको ठाउँ नजिकै सशस्त्र प्रहरीका रामबिहारी चौधरी र नेपाल प्रहरीका हवल्दार श्याम खड्कालाई जलाएर मारेको प्रमाण प्रहरीले बरामद गरेको जनाइएको छ ।
घटनाको निरीक्षणमा आएको महानिरीक्षकद्वयले टीकापुरमा भएको हिंसात्मक आक्रमणको घटनाका बारेमा स्थानीय प्रशासन तथा प्रहरी लगायतसँग जानकारी लिई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका थिए ।
स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाल प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले कानूनविपरित कार्य गर्ने जो सुकैलाई कारवाही गर्ने बताए ।
तीन ओटै सुरक्षा प्रमुखको टोली समक्ष स्थानीयले आफूहरु अझै ढुक्कसँग बस्ने वातावरण नभएकोले उचित सुरक्षाको प्रबन्ध गरी हिडडुल गर्ने ब्यवस्था मिलाई दिन अनुरोध गरेका थिए ।
प्रतिउत्तरमा महानिरीक्षकद्वयले सवैलाई भरपर्दो किसिमको सुरक्षा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने बताउदै उपस्थित सुरक्षा अधिकारीहरुलाई सर्वसाधरणको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएका थिए ।
उता, घटनास्थल पुगेर राष्ट्रिय मानवअधिकार आयोगको टोलीले समेत अनुसन्धान थालेको छ । घटनाको अनुसन्धानका लागि आयोगका सदस्य सुदीप पाठकको नेतृत्वमा टोली टीकापुर पुगेको हो ।
थरुहट कार्यकर्ताहरुद्धारा टीकापुरमा आठ जना प्रहरीसहित एक बालकको हत्या भएपछि घटनाको छानविनका लागि पाठकको नेतृत्वमा पाँच सदस्यीय टोली घटनास्थल पुगेको हो । टोलीले बिहीबार टीकापुर क्षेत्रका सरोकारवालाहरुसँग पनि छलफल गरेको थियो ।
छलफलका क्रममा सरोकारवालाहरुले टीकापुर क्षेत्रमा लगाएको कर्फ्यु दिनको २ घण्टा जति भएपनि खोल्ने बाताबरण बनाउन आग्रह गरेका छन् । लामो समयको बन्द र कर्फ्युले नागरिकहरुको जनजिवन कष्टकर बन्दै गएको भन्दै उनिहरुले कर्फ्यु खुकुलो बनाउन आग्रह गरेका छन् ।
मेरो नाबालक छोरालाई गोली हानियोः नेत्रबहादुर
टीकापुर घटनामा मारिएका डेढ वर्षीय बालक टेकबहादुर साउदलाई आक्रमणकारीहरुले गोली हानी मारेको पीडित परिवारले बताएका छन् ।
टेकबहादुरलाई प्रहरी मारिएको एक घण्टापछि आक्रमणकारीले घर नजिकै आएर गोली हानेर हत्या गरेको मृतक बुबा नेत्रबहादुर साउँदले मानवअधिकारकर्मी, सञ्चारकर्मी तथा महानिरीक्षकको टोली समक्ष बताए ।
‘घर नजिकैको बारीबाट गोली हान्न थालेपछि बरण्डामा रहेको टेकबहादुरई बहिनी दुर्गा कठायतले घरभित्र तानेर लग्दै थिए तर उ एकाएक गोली लागेर ढल्यो भने ।  सशस्त्र प्रहरीका हवलदार समेत रहेका नेत्रबहादुरले टेकबहादुरको टाउँको पछाडी गोली लागेको बताए ।
फोटो:
Tikapur-kailali (1)
सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेलाई मारिएको घटनास्थलमा प्रत्यक्षदर्शीको कुरा सुन्दै महानिरीक्षक अर्यालय लगायतको टोली
Tikapur-kailali (2)
डेढ वर्षीय छोरा मारिएको घटनाबारे अधिकारकर्मीलाई जानकारी दिँदै नेत्रबहादुर
Tikapur-kailali (3)
टीकापुरको अवस्था बारे राष्ट्रिय मानवअधिकार आयोगको टोली टीकापुरमै विभिन्न तह र तप्का ब्यक्तिसँग छलफल गर्दै
Tikapur-kailali (4)
हिंस्रक घटनापछि आक्रोशित समुहले टीकापुरमा जलाएको एक होटल
Tikapur-kailali (5)
हिंसात्मक घटना घटाउन मुख्य भूमिका खेलेको भन्दै आक्रोशित समूहले रेशम चौधरीको जलाएको फूलवारी रिसोर्ट
Tikapur-kailali (6)
फूलवारी रिसोर्टमा रहेको आगजनी गरिएको गाडी
Tikapur-kailali (8)
हिंसात्मक घटना घटाउन मुख्य भूमिका खेलेको भन्दै आक्रोशित समूहले रेशम चौधरी सञ्चालक रहेको फूलवारी एफएममा गरिएको आगजनी बारे अधिकारकर्मीको टोली अनुगमन गर्न जाँदै
Tikapur-kailali (9)
आगजनीबाट खरानी भएको फूलबारी एफएमको स्टुडियो
Tikapur-kailali (10)
बीच सडकमा आगजनी गरिएको मोटरसाइकल
Tikapur-kailali (11)
दिबंगत एसएसपी लक्ष्मण न्यौपानेका अंगरक्षक हवलदार मानबहादुर बुढामगर घटनाबारे जानकारी दिँदै
Tikapur-kailali (12)
थरुहट पक्षधर प्रर्दशनसहित आएको बेलाको घटना बारे बताउँदै स्थानीय प्रत्यक्षदर्शी
Tikapur-kailali (13)
प्रर्दशनकारीहरुले आफ्नो घरमा गरेको तोडफोड देखाउदै स्थानीय
Tikapur-kailali (14)
दिबंगत एसएसपी न्यौपाने लगायतलाई लखेटेर ल्याएको मकैबारी
Tikapur-kailali (15)
दिबंगत एसएसपी न्यौपाने लुकेको कोठामा लात्तीले हानेर निकालेको ठाउँ देखाउदै प्रत्यक्षदर्शी एक महिला
Tikapur-kailali (18)
दिबंगत एसएसपी न्यौपानेलाई सबैभन्दा पहिले मृतक अवस्थामा भेटाउने प्रहरी उनको अवस्था बारे जानकारी दिँदै
Tikapur-kailali (17) Tikapur-kailali (19)

No comments:

Post a Comment