स्रोत-नयाँ पत्रिका>>>फेरि विनाआधार करोडौँ वितरण सागर पण्डित/नयाँ पत्रिका काठमाडौं, १३ भदौ विनाआधार गृह मन्त्रालयको प्रस्तावमा सरकारले फेरि करोडौँ रुपैयाँ वितरण गरेको छ । गृहको प्रस्तावमा गत २८ साउनको मन्त्रिपरिषद् बैठकले विभिन्न व्यक्तिलाई लाखौँ रुपैयाँ दिने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको सिफारिसमा प्युठान नगरपालिका–६ का प्रणवी गौतमका पिता ध्रुव गौतमलाई आर्थिक सहायतास्वरूप २५ लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । मन्त्रिपरिषद्को निर्णयमा के–कति कारणले उनलाई त्यति धेरै रकम दिइएको हो भन्ने खुलाइएको छैन । यस्तै चितवनका जागृतप्रसाद भेटवाललाई पनि २५ लाख रुपैयाँ दिइएको छ । गृह मन्त्रालयकै प्रस्तावमा सरकारले कन्हैयालाल यादवलाई उपचार खर्चबापत १३ लाख ६० हजार सात सय १० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । सिरहाका रामरति यादवले पाँच लाख, नवलपरासीका मझिलाल थारूले पाँच लाख, अर्घाखाँचीका डेमलाल घिमिरे, रामेछापका कमल सुनुवार, सिरहाका रामरति रामले पनि आर्थिक सहायताबापत पाँच–पाँच लाख रुपैयाँ पाएका छन् । यसैगरी बर्दियाका हिमबहादुर विष्ट, कास्कीका मेघराज आचार्य, बाराकी रीता बडाललाई चार–चार लाख, प्युठानका हरिप्रसाद रिजाललाई तीन लाख, प्युठानकै देवीबहादुर विष्टलाई दुई लाख, जाजरकोटका कालु हमाललाई तीन लाख, बर्दियाका कमल शाहीलाई दुई लाख, बाजुराका तुलाबहादुर थापा र रामेछापका हीराबहादुर थापालाई दुई–दुई लाख रुपैयाँ दिने निर्णय भएको छ । प्युठानकै शान्ता थापालाई दुई लाख, सोलुखुम्बुकी सुशीला कार्कीलाई तीन लाख, धनकुटाकी श्यामकुमारी लुइँटेल, सिरहाका अभिमन्युप्रसाद गुप्ता, उदयपुरका नजवुल खान र महोत्तरीका सुवासकुमार यादवलाई दुई–दुई लाख रुपैयाँ दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यसअघि पनि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत हचुवाको भरमा विभिन्न व्यक्तिलाई करोडौँ रुपैयाँ वितरण गरेको थियो ।

No comments:
Post a Comment