Saturday, 29 August 2015

३ महिनादेखि मलेसियामा अपरहणमा परेका खड्का अझै सम्पर्क विहिन

स्रोत-सेतोपाटी>>>सल्यानका लोकबहादुर खड्का गत वैशाख २४ गते मलेसियाको केलएल टावरबाट बुकिड बिन्ताङ जाँदै गर्दा सम्पर्क विहिन भए। म्यानपावर व्यवसायमा संलग्न उनी अपहरणमा परेको भोलिपल्ट मात्र थाहा भयो। अपहरणकारीले उनका आफन्तलाई नेपाल फोन गरेपछि उनी अपहरणमा परेको पुष्टि भयो। अपहरणकारीले खड्काकी श्रीमती कमला ओलीसँग ४ लाख माग गरे। कमलाले त्यो रकम पनि बुझाइसकेको पुष्टि भएको छ। तर खड्काको अवस्था भने अझै अज्ञात छ। म्यानपावर एजेन्टका रुपमा रहेका उनी कामदारको डिमान्डबारे छलफल गर्न नेपाल आएका थिए।
 
कमला मलेसियामा नै आएर पति खोजे पनि भेट्न सकेकी छैनन्। उनी मात्र होइन मलेसियामा म्यानपावरका एजेन्ट अपरहणमा परेको। गत जेठ २५ गते म्यानपावर एजेन्ट भक्तपुर ८ का रामप्रसाद नेपाल पनि कोत्राय भन्ने स्थानबाट पक्राउ परे। कमल बहादुर गौली लगायत अन्य नेपाली तथा मलेसियन नागरिक  मिलेर उनको अपहरण गरिएको थियो। म्यानपावर एजेन्ट नेपाललाई उनीहरुले आफूहरुसँग डिमान्ड छ भन्दै जोहर बहरुतिर लिएर गएका थिए।
 
६ जना व्यक्तिहरूले अपहरण गरी ५ दिनसम्म आँखामा पट्टि तथा हात खुट्टा समेत बाँधी जंगलबीच बस्तिको घरमा बन्धक बनाई नेपालमा पिडितका आफन्तसँग नगद ३० लाख बराबरको फिरौति मागी बन्धक बनाई राखिएको थियो  । बस्तीबाट शहर तर्फ लाने क्रममा नेपाल चडेको गाडी दुर्घटना भई अपहरण कारीको पन्जाबाट उनी भागेर नेपाल आएका थिए।  साउन ४ गते चितवन बछौली-२ सौराहाबाट घटनाको मुख्य योजनाकार जिल्ला तनहुँ पुर्कोट ५ बस्ने बर्ष ३२ को कमल बहादुर गौलीलाई सिआइबीको टोलीले पक्राउ गरेको थियो।
 
अहिले मलेसियामा ९ लाख नेपाली कामदार छन्। अवैध रुपमा बस्नेहरु पनि धेरै छन् । गत ८ महिनामा ३ सय ८ जनाको मृत्यु भइसकेको छ । २ सय २२ जना जेलमा छन् । ४ सय ५० जना स्वदेश फिर्ति क्याम्पमा छन्। मलेसियामा रहेका नेपालीहरु नेपालीबाट नै खतरामा पर्ने गरेको ३ वर्षदेखी जोहर बहरुमा काम गर्दै आएका लक्ष्मण लामाले बताए। नेपालीले नेपालीलाई ठग्ने, कुटपीट गर्ने, हत्या गर्नेसम्मका घटना मलेसियामा हुने गरेको उनले सुनाए। उनले नेपाली कामदारलाई सुरक्षा दिन दूतावाससँग आग्रह गरे। 
 
मलेसियाका लागि नेपाली राजदूत निरन्जनमान सिंह बस्नेतले नेपाली कामदारका लागि मलेसियामा सुरक्षित नभएको बताए। नेपाली कामदारलाई सुरक्षा दिने विषयमा आफूले पहल  गरिरहेको उनले बताए । साढे ३ महिना अपहरणमा परेका खड्काका बारेमा आफूहरुले कुटनीतिक पहल गरिरहेको उनले बताए । खड्कालाई खोज्न दूतावासले पहल गरिसकेको भन्दै उनले मलेसियन प्रहरीबाट नै काम ढिलाई भएको भन्दै चिन्ता प्रकट गरे। मलेसियामा सुरक्षाका पहरेदार मलेसियन प्रहरीले सुरक्षा दिन सकेको छैन्।  प्रहरीहरु धेरै भष्ट्रचारी भएका कारण मुद्दा उल्टाउने समेत गर्ने गरेको धेरै नेपालीको आरोप छ ।

No comments:

Post a Comment