Saturday, 12 September 2015

प्रहरी हत्या गर्ने एकएकको खोजी खोजी कारवाही हुन्छ : प्रधानमन्त्री कोइराला

स्रोत-दैनिक नेपाल>>>काठमाडौँ, २६ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले जनमानसमा शान्तिको प्रत्याभूति गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उहाँले उद्योग व्यवसाय सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकार प्रयासरत छ भन्नुभयो । महासङ्घको ध्यानाकर्षणपछि प्रधानमन्त्री कोइरालाले असन्तुष्ट पक्षसँग औपचारिक रुपमा संवाद नभए पनि अनौपचारिक रुपमा छलफल भइरहेकाले केही दिनभित्रै समाधान निस्कने विश्वास दिलाउनुभयो ।
प्रदेशको सीमा निर्धारणपछि मुलुकका विभिन्न जिल्लामा मधेसवादी तथा थारू समुदायका तर्फबाट भएको आन्दोलनले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण नभएको भन्दै महासङ्घले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियोे । प्रधानमन्त्रीसँगको भेटमा आफूले मुलुकका अधिकांश भागमा लगातार एक महिनादेखि जारी बन्द हडताल, अशान्ति, जबर्जस्तीजस्ता क्रियाकलापले निजी क्षेत्र र नागरिक त्रसित भएको जानकारी गराएको महासङ्घका अध्यक्ष पशुपति मुरारकाले बताउनुभयो ।
उहाँले निजी क्षेत्र उद्योगी, व्यवसायी र उद्योग प्रतिष्ठानमा आक्रमण, जबर्जस्ती र बढ्दो धम्कीका कारण उद्योग व्यवसाय चलाउन नसक्ने अवस्थाको सिर्जना भएको बताउँदै भन्नुभयो, “पर्यटन उद्योग ठप्प छ, सरकार र बैंक तथा वित्तीय संस्थालाई बुझाउनुपर्ने कर एवम् ऋणको किस्ता तिर्न सक्ने अवस्था छैन ।”
एक फरक प्रसंगमा प्रधानमन्त्री कोइरालाले प्रहरी हत्यामा संलग्न जुनसुकै पार्टी, मोर्चाको कार्यकर्ता भएपछि एकएकको खोजी खोजी कारवाही गर्ने बताउनुभयो । उहाँले भन्नुभयो-‘आन्दोलनका नाममा कानुन हातमा लिएर सुरक्षाकर्मीको निहत्था हत्या गर्नेलाई कुनै हालतमा छाडिन्न् ।’ रासस

No comments:

Post a Comment