Tuesday, 8 September 2015

गृहमन्त्रीको निर्देशन, ‘अपराध गर्न उक्साउने, सदभाव भड्काउनेलाई पक्राउ र चेकजाँचलाई कडाई गर्नु’

स्रोत-दैनिक नेपाल>>>काठमाडौं, २२ भदौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले देशमा शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा कुनै पनि किसिमको छुट वा सम्झौता नगरिने बताउनुभएको छ ।
बर्तमान अवस्थामा शान्ति सुरक्षाको अवस्था एवं उत्पन्न चुनौतीबारेमा छलफल गर्न मंगलबार प्रहरी प्रधान कार्यालयमा महानगरीय प्रहरी कार्यालय र पाँचैक्षेत्रका प्रहरी प्रमुखहरूलाई बोलाई भएको समीक्षा बैठकमा गृहमन्त्री गौतमले सुरक्षा कायम गर्ने विषयमा कुनै पनि सम्झौता नगरिने बताउनुभएको हो ।
गौतमले हाल देखिएका विभिन्न खाले बिकृतिलाई कारबाहीको दायराभित्र ल्याउनुपर्ने निर्देशन दिनुभयो । उहाँले सुरक्षा व्यवस्था थप सुदृढ गर्नुपर्ने बताउनुभयो । ‘अपराध गर्न उक्साउने, सद्भाव भड्काउनेलाई पक्राउ गर्न र चेकजाँच कार्यलाई अझै कडाईकासाथ अगाडि बढाउनु पर्छ’, उहाँले भन्नुभयो ।
समीक्षा बैठकमा गृह प्रवक्ता सहसचिव लक्ष्मीप्रसाद ढकाल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, महानगरीय प्रहरी कार्यालय तथा पाँचै क्षेत्रका प्रहरी प्रमुख एवं प्रहरी प्रधान कार्यालयस्थित बरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।
गृहसचिव सूर्यप्रसाद सिलवालले बर्तमान अवस्थामा शान्ति सुरक्षा कायम गर्नकालागि सुरक्षा निकायले अझै सक्रियताकासाथ काम गर्नुपर्ने बताउनुभयो ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरी जनशक्ति हरहमेशा फिल्डमा खटिन सक्ने गरी तयारी हालतमा रहेको जानकारी दिनुभयो ।

No comments:

Post a Comment