स्रोत-एभरेष्ट दैनिक>>>काठमाडौं, भदौ २९ । असौज ३ गते शीर्ष दलहरु संविधान जारी गर्न विशेष तयारी गरिरहेका बेला विप्लव माओवादीले भने नेपाल बन्दको घोषणा गरेको छ ।
“देशमा राष्ट्रघात, दलाल तत्वहरुको संविधान, प्रतिक्रान्ति, प्रतिगमन र मुठ्ठीभर दलालहरुको निरंकुश फाँसिवाद नेपाली जनता माथि लादिने भएको”ले नेपाल बन्दको घोषणा गरेको प्रवक्ता प्रकाण्डले विज्ञप्तीमार्फत जनाएका छन् ।
पढ्नुस पूर्ण विज्ञप्ती
१. कथित तीन दल र सरकारद्वारा जारी गर्ने भनिएको संविधान नेपाली जनताले सामन्यतः ००७ साल यता गर्दै आएको संघर्ष र विशेषतः १० वर्षको महान् जनयुद्ध एवं १९ दिनको ऐतिहासिक जनआन्दोलनका राजनैतिक एजेण्डा, त्यसका निम्ति हजारौं सहिदहरुले बगाएको रगत, वेपत्ता तथा घाईते योद्धाहरुको बलिदान, लाखौँ परिवर्तनकामी नेपाली जनताको लगानी र चाहानको ठिक विपरित छ ।
२. नेपालको विधमान सामन्ती, एकात्मक र केन्द्रीकृत राज्यसत्ता र शासन व्यवस्थाको परिवर्तन गरी वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गीक एवं सामाजिक सांस्कृति विभेदको अन्त गर्ने र प्रतिस्प्रधात्मक वहुदलीय शासन व्यवस्थाको स्थापना जननिर्वाचित संविधानसभाबाट जनसंविधान निर्माण गरी राज्यको अग्रगामी पूनर्संरचनाको लक्ष्यसहित माओवादी र संसदवादी शक्तिबीच भएको रोल्पा वार्ता, वृहत शान्ति सम्झौंता लगायत सबै सहमति एवं सम्झौंता र ०६३ साल यता तय गरिएको शान्ति प्रकृया, माओवादी एवं संसदवादी शक्तिबीचको सहकार्यलाई पूर्ण रुपले निस्तेज पारेको छ ।
३. देशमा राष्ट्रघात, दलाल तत्वहरुको संविधान, प्रतिक्रान्ति, प्रतिगमन र मुठ्ठीभर दलालहरुको निरंकुश फाँसिवाद नेपाली जनता माथि लादिने भएको छ ।
४. यो देशका दलालहरुले क्रान्ति र परिवर्तनको ऐतिहासिक प्रक्रियामा इतिहासलाई मात गर्ने गरी गरेको राष्ट्रघात र जनघातका विरुद्ध हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादीले ०७२ असोज ३ गते नेपाल बन्दको कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रमलाई पूर्ण रुपमा सफल पार्न उल्लेख्य सहभागीताका लागि राष्ट्रिय स्वाधिनता र जनताको गणतन्त्रका पक्षधर आम नेपाली जनसमुदायमा हाम्रो पार्टी हार्दिक आहृवान गर्दछ ।

No comments:
Post a Comment