Friday, 18 September 2015

प्रचण्डले मोदी–दूत जयशंकरलाई भने– भ्रमणको समय मिलेन, दश–पन्ध्र दिन अघि या पछि आएको भए हुन्थ्यो

स्रोत-एभरेष्ट दैनिक>>> काठमाडौं असौज १ । संविधान जारी गर्ने पूर्व सन्ध्यामा नेपालको राजनीतिक मामिलामा भारतीय चासो बोकेर शुक्रबार काठमाडौं आएका भारतीय विदेश सचिव एस.जयशंकर र एमाओवादी शीर्ष नेताहरुबीच छलफल भएको छ ।
एमाओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा भएको छलफलमा संविधान निर्माण प्रक्रिया, संविधानमा असन्तुष्ट पक्षहरुको आन्दोलन र नेपाल भारत–सम्बन्धका बारेमा कुराकानी भएको थियो ।
“भारतीय सचिवले मुख्यतः संविधान निर्माणसँग जोडिएका विषय र तराईसँग जोडिएका नेपाल भारत सीमाक्षेत्रका बारेमा कुरा राख्नुभयो ।” प्रचण्डका स्वीकीय सचिव चुडामणी खडकाले एभरेष्टदैनिकडटकमसँग भने । “मधेस, थारुलगायतका मुद्धालाई सकेसम्म समेटेर लैजानुपर्ने वहाँको जोड थियो ।” छलफलमा जयशंकरले भनेको खडकाले बताए । भारतले संविधान निर्माणमा नेपालका राजनीतिक दलहरुले खेलेको भूमिका प्रशंसा गर्दै सबैको अधिकतम स्वामित्व हुने संविधान निर्माणका लागि थप सहमति खोज्न बारम्बार आग्रह गर्दै आएको छ ।
त्यसैगरी छलफलका क्रममा भारतीय दूत जयशंकरले लामोसमयदेखि तराईमा भइरहेका आन्दोलनका कारण तराईसँग जोडिएको भारतीय सीमामा परेको प्रभावका बारेमा समेत चर्चा गरेको खडकाले जनाए ।
भारतीय पक्षले सीमाका बारेमा कुरा उठाउनुबाट जयशंकरको आशय पछिल्लो समयमा तराईमा चलिरहेको आन्दोलनलाई सम्बोधन नगर्दा यसले भारतीय सुरक्षामा नै समस्या पर्ने रहेको बुझिन्छ ।
एमाओवादी अध्यक्ष प्रचण्डले भने मधेश, थरुहट, जनजातिलगायत संविधानमा असन्तुष्ट पक्षहरुका मागमा सहमतिका लागि अधिकतम पहल गरिएको र असन्तुष्टिका विषयहरुलाई भविष्यमा समेत सम्बोधन गर्न सकिने सम्भावना जिवितै रहेको बताएका थिए । अहिले राजनीतिक प्रतिबद्धता व्यक्त गर्ने र भविष्यमा सोही आधारमा संविधानमा संशोधनमार्फत अन्य जायज मागहरु समेत समेट्न सकिने भएकोले फरक मत राखेर भएपनि सबैबाट संविधानलाई स्वीकार्न पहल गरिरहेको समेत प्रचण्डले भेटका अवसरमा कुरा राखेको खडकाले बताए ।
प्रचण्डले भारतीय सहयोग र सद्भावका लागि धन्यवाद दिँदै भारतले नेपालसँग जोडिएको सीमाक्षेत्र मात्रै नभएर छिमेकीका नाताले समग्र नेपालको नवनिर्माणमा सहयोगी भूमिका निर्वाह गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।
खडकाका अनुसार, प्रचण्डले भारतीय विदेश सचिव जयशंकरको भेट समय सान्दर्भिक हुन नसकेको विचार समेत व्यक्त गरेका थिए । स्वीकीय सचिव खडकाका अनुसार, प्रचण्डले संविधान जारी गर्ने अन्तिम क्षण भएकोले अहिले भ्रमण गर्नुभन्दा दश पन्ध्रदिन अघि या जारी भएको दश प्रन्ध्र दिनपछि जयशंकरको भ्रमण भएको भए त्यसले महत्व राख्ने बताए । छलफलमा भारतीय चासो मधेश केन्द्रीत दलहरुको माग र तराईमा भइरहेको निरन्तर बन्द र प्रदर्शनले भारतीय सीमाक्षेत्रमा पर्नसक्ने सम्भावित सुरक्षा खतरा रहेको थियो ।

No comments:

Post a Comment