Thursday, 24 September 2015

हुम्ला पुगेका अर्थमन्त्री महतले भने-हामी छिट्टै चीनसँग नाका खोल्छौं

'चीनसँग जोडिएको हिल्सा नाका खोल्न सडक र पुल निर्माण हुने' 
स्रोत-दैनिक नेपाल>>>हुम्ला, ७ असोज । अर्थमन्त्री डा रामशरण महतसहित सभासद्हरुको टोलीले कर्णाली राजमार्गको सडक निर्माणको निरीक्षण गरेको छ ।
अर्थमन्त्री डा महतसहित सभासद्हरु जीवनबहादुर शाही, तप्तबहादुर विष्ट, हृदयराम थानी, प्रकाश पौडेल, नेपाली सेनाका बलदेवराज महत, नेपाली सेनाका प्राविधिक सहायक रथी उदय विष्टको टोलीले कर्णाली राजमार्गको निरीक्षण गरेको हो ।
सम्पूर्ण दलका तर्फबाट नेपाली काँग्रेसका सभापति जयपति रोकायाले हुम्ला जिल्लाका मागहरु कर्णाली सडक निर्माण सेनालाई दिनुपर्ने, सीमामा विद्युत् आपूर्ति हुनुपर्ने, सल्लिसल्ला हुँदै मुगु जिल्ला सडक जोड्नु, खाद्यान्न ढुवानीका लागि समयमै व्यवस्था हुनुपर्ने माग राखेका थिए ।
प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरेले हुम्ला जिल्लामा शान्ति सुरक्षा राम्रो भएको भन्दै जिल्लाका लागि खाद्यान्न २४ हजार क्विन्टलको माग गर्नुभयो । समयमै खाद्यान्न ढुवानी नहुँदा जनतालाई खाद्यान्न वितरण गर्न गाह्रो भएको कर्मचारीले गुनासो व्यक्त गरे ।
सभासद् जीवनबहादुर शाहीले नेपालमा संविधान घोषणा भएको र हुम्लाका सम्पूर्ण दल विकासका लागि एक भएका भन्दै सीमामा प्रहरी र भन्सारको व्यवस्था हुनुपर्ने माग राख्नुभयो ।
अर्थमन्त्री डा महतले दुर्गम जिल्लाको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको, निरीक्षणका क्रममा डोल्पा जिल्लामा सडक निर्माण भइरहेको तर हुम्ला जिल्लामा भौगोलिक विकटताले पछि परेको, कर्णाली किनारबाट सडक ल्याउनका लागि नेपाली सेनालाई दिइएको, सिमीकोटदेखि हिल्सा नाकासम्म सडक र पुलको निर्माण गर्न सरकार लागिपरेको बताउनुभयो ।
खाद्यान्न आपूर्तिको व्यवस्था मिलाउन सरकार अगाडि बढेको उल्लेख गर्नुृहुँदै उहाँले तराईका जनतालाई सहमतिबाट वार्तामा ल्याउनका लागि पनि जोड गरेको तथा स्वास्थ्य, शिक्षाको क्षेत्रमा दुर्गममा कर्मचारीको व्यवस्था सरकारले गर्ने उल्लेख गर्नुभयो ।
सो सभाको सभापतित्व स्थानीय विकास अधिकारी रवि भट्टराईले गर्दै दुर्गम जिल्लाको विकासको बजेट कात्तिक मसान्तसम्म आइपुग्नुपर्नेमा जोड दिनुभयो । रासस

No comments:

Post a Comment