अब प्रधानमन्त्री केपी ओली निश्चित भएको दाबी
काठमाडौँः नेकपा (एमाले) सचिव प्रदीप ज्ञवालीले नेपालको संविधान नेपाली जनताका प्रतिनिधिले बनाएको भन्दै त्यसमा कसैको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।
एमाले अध्यक्ष केपी ओलीको विशेष दूतका रुपमा दिल्ली पुगेर नेपाल फर्केका सचिव ज्ञवालीले नेपाली जनताका प्रतिनिधिले बनाएको संविधान भएकाले सबै नेपाली जनताले स्वीकार गर्ने पनि दाबी गरे ।
‘नेपालको संविधान भारत, चीन वा अमेरिकी जनताका लागि बनाई दिएको होइन,’ उनले कडा प्रतिक्रिया दिदैँ भने, ‘भारत, चीन वा अमेरिकाले यो संविधान मान्छ कि मान्दैन भन्ने कुनै सरोकार छैन, नेपालका जनताले मान्छन् ।’
भारतले नेपालको नयाँ संविधानले तराई–मधेसका जनताको भावनालाई प्रतिनिधित्व गर्न नसकेको भन्ने चर्चा चलिरहेका बेला ज्ञवालीले यस्तो जवाफ दिएका हुन् ।
‘मैले भारत भ्रमणका क्रममा त्यहाँका कुटनीतिज्ञ, मानवअधिकारवादी र विभिन्न दलका नेताहरुलाई पनि नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएको छु,’ उनले भने, ‘ भारतीयहरुमा देखिएको भ्रम हटाएर फर्केको छु, मलाई लाग्छ भारतको संस्थापन पक्षले समूदाय विशेषसँग हेरेर आफ्नो धारणा बनाउँने छैन र नेपालको संविधानप्रति समर्थन जनाउँने छ ।’
उडन्ते कुराको भ्रम हटाएर आएँ
ज्ञवालीले भारतीयहरुमा केही उडन्ते कुरा सुनेर नेपालप्रति भ्रम फैलिएको र त्यो भ्रम चिरेर फर्किएको पनि दाबी गरे । ‘टीकापुरमा १ सय बढी थारु मारिएको, तराई–मधेसमा ६० हजार सेना परिचालन गरेको जस्ता उडन्ते कुराका पछि केही भारतीय लागेका रहेछन् ।
उनीहरुका ती उडन्ते कुरा सुनेर मैले हाँसो थाम्न सकिनँ,’ ज्ञवालीले भने, ‘उनीहरुलाई नेपालको बस्तुस्थितिका बारेमा राम्रो जानकारी गराएर त्यो भ्रम हटाएर आएको छु ।’
रुमानी नाराका पछि नलाग्नु होला
ज्ञवालीले तराई–मधेसमा आन्दोलनरत राजनीतिक दल र समूहलाई रुमानी नाराका पछि नलाग्न आग्रह गरे । ‘हामी लोकतन्त्रमा विश्वास गर्छौँ, तपाईँहरु रुमानी नाराका पछि लागेर संविधान जलाउँने काममा नलाग्नु होला,’ उनले भने, ‘संविधान जलाउँदा महिलाको अधिकार, दलितको अधिकार, संघीयता पनि जल्ने छन्, ती तपाईँहरुकै उपलब्धी भएकाले जलाउँन नलाग्नु होला ।’
अबको प्रधानमन्त्री केपी ओली
ज्ञवालीले भाबी प्रधानमन्त्री केपी शर्मा ओली भएको पनि प्रष्ट पारेका छन् । एमाले संसदीय दलको नेता, पार्टी अध्यक्ष र संविधान निर्माण प्रक्रियाका सन्दर्भमा विश्वले नै गर्भ गर्ने भूमिका खेलेकाले ओली नै प्रधानमन्त्री बन्ने पक्का भएको दाबी गरे ।
‘ओली प्रधानमन्त्री नहुदाँ पार्टी र उहाँलाई केही पनि घाटा हुँदैन,’ उनले भने, ‘तर, उहाँको भूमिकाले र उहाँ नै प्रधानमन्त्री बन्ने पक्का छ ।’
माओवादीले हतियार उठाउँदा जन्मिएको बच्चा २० वर्षको भयो
उनले अब पनि देशलाई द्धन्द्धको बाटोमा लैजान नसकिने जिकिर गरे । ‘माओवादीले हतियार उठाउँदा जन्मिएको बच्चा २० वर्षको भयो,’ उनले भने, ‘अब अझै कति हत्या–हिंसा गर्ने ? अब संविधान निर्माणपछि देश संवृद्धिको बाटोमा अघि बढ्छ ।’
तराई–मधेसको समस्या राजनीतिक रुपमा हल गर्ने
ज्ञवालीले संविधान जारी भएपछि तराई–मधेसको समस्या राजनीतिक रुपमा हल गर्ने दाबी गरेका छन् । ‘हामीले पटक–पटक वार्ताका लागि आग्रह गरेकै हौँ,’ प्रधानमन्त्रीले पनि पटक–पटक पत्र लेखेर वार्तामा बोलाएकै हो,’ उनले भने, ‘तर, उहाँहरु वार्तामा नआएपछि हामीले संविधान निर्माण प्रक्रियालाई अघि बढायौँ, अब संविधान जारीपछि राजनीतिक रुपमा समस्या हल गर्छौ ।’
BY-NAYAPAGE.COM
No comments:
Post a Comment