Monday, 14 September 2015

सुनकै अक्षरले लेखेपनि लिम्बुवान विनाको संविधान मान्य नहुने Read more>>>

स्रोत-आजको खबर>>>प्रकाश पाक्साँवा, तेह्रथुम, २८ भदौ, अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त प्रदेश बनाइनु पर्ने माग गर्दै आन्दोलनरत संयुक्त लिम्बुवान संघर्ष समितिले आज तेह्रथुमको बसन्तपुरमा खबरदारी सभा गरेको छ । सभालाई सम्बोधन गर्दै संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देन 'मिराक'ले संविधानमा सुनकै अक्षरले लेखेपनि लिम्बुवान विनाको संविधान मान्य नहुने बताएका छन् । उनले पहिचानका लागि लिम्बुवान, खम्बुवान र मधेशीले गरिरहेको आन्दोलन यत्तिकै नटुङ्गिने बताए । लिङ्देनले पहिचानवादीहरुलाई पाखा लगाएर संविधान निर्माण गरे देशले ठूलो दुर्घटना बेहोर्नु पर्ने दाबी गरेका छन् । सभामा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका सचिव तथा पूर्व अर्थ राज्यमन्त्री हरि खेवाले लिम्बुवान प्राप्तिका लागि भइरहेको आन्दोलन थप परिपक्व बन्दै गएको बताए । उनले लिम्बुवान राज्य प्राप्तिको आन्दोलन अब अन्तिम चरणमा पुगेको भन्दै सबैलाई आत्मसात गर्न आग्रह गरे । यस्तै संघीय समाजवादी फोरम लिम्बुवान प्रदेश सहइन्चार्ज आरसी तुम्बाले ऐतिहासिक पहिचान प्राप्तिको राजनीतिक आन्दोलनको समाधान राजनीतिक तवरबाटै खोज्न आग्रह गरे । उनले देशैभरि भइरहेका विभिन्न आन्दोलनहरुलाई आपराधिक आन्दोलनको परिचय दिएको भन्दै ती आन्दोलनको समाधान राजनीतिक रुपमा खोज्नुपर्ने धारणा राखे । सभालाई सम्बोधन गर्दै राजनीतिक विश्लेषक तथा पत्रकार भवानी बरालले लिम्बुवानी जनतालाई लिम्बुवान साम्प्रदायिक, जातीय वा राष्ट्रिय राज्य हो भन्नेमै भ्रम रहेको भन्दै त्यो भ्रमबाट मुक्त हुन आग्रह गरे । लिम्बुवान क्षेत्री, बाहुन विरोधी राज्य नभएको प्रष्ट पारे । उनले लिम्बुवान यहाँको लिम्बु जातिसँग मात्र सम्बन्धित नभई लिम्बुवानी भूमिसँग सम्बन्धित रहेको बताए । पत्रकार बरालले पत्रकारहरुलाई लिम्बुवानी न्यायको कुरा लेख्न समेत आग्रह गरे । यस्तै सभालाई नेकपा एकीकृत सम्बद्ध लिम्बुवान स्वशासित संघका अध्यक्ष केबी फुदोङ, लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष पदम अधिकारी, लिम्बुवान मुक्ति मोर्चाका मोहन इदिङ्गो, आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष काजीमान तुम्बाहाम्फेले सम्बोधन गरेका थिए । संयुक्त लिम्बुवान संघर्ष समितिको आयोजनामा भएको कार्यक्रममा पूर्वका तेह्रथुम, धनकुटा, संखुवासभा र सुनसरीका कार्यकर्ता सहभागी थिए । संघर्ष समितिमा लिम्बूहरुको छाता संगठन किराँत याक्थुङ चुम्लुङको नेतृत्वमा विभिन्न राजनीतिक दल र तामाङ, राई, गुरुङ लगायतका विभिन्न जातीय संगठनहरु आवद्ध रहेका छन् । 

No comments:

Post a Comment