स्रोत-दैनिक नेपाल>>>काठमाडौं, २१ भदौ । आफ्नै पार्टी र मधेश केन्द्रित राजनीतिक दलहरूको चर्को दवाव खेप्दै आउनुभएका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले तराई मधेशको आन्दोलनको नेतृत्व आफूले सम्हाल्ने तयारी गर्नुभएको छ ।
उहाँले सबै पक्षसँग आन्तरिक छलफल र परामर्श गरेर मैदानमा उत्रिनु भएको जानकारहरूको भनाइ छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई चुनौति दिँदै शरतसिंह भण्डारी र राजकिशोर यादवको पार्टीसँगको सहकार्यमा हालै नयाँ मोर्चा गठन गर्नुभएका गच्छदारले आज (सोमबार) गृह जिल्ला सुनसरीदेखि आन्दोलनको घोषणा गर्ने तयारी गर्नुभएको छ ।
गच्छदारले इटहरीमा हुने विरोध सभालाई सम्बोधन गरेर तराई मधेशको आन्दोलनमा कमाण्डिङ गर्ने योजना बनाउनु भएको हो ।
त्यति मात्रै होइन गच्छदारले आफ्ना दलका सभासद र केन्द्रीय नेताहरूलाई आआफ्ना जिल्लामा गएर आन्दोलनको बागडोर सम्हाल्न निर्देशन दिनुभएको छ ।
फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीका अनुसार सभासद र केन्द्रीय नेताहरूलाई जिल्लामा गएर मोर्चा सम्हाल्न अध्यक्ष गच्छदारले निर्देशन दिनुभएको छ ।
‘आफ्ना अधिकारका लागि मधेश र थारुको आन्दोलनलाई हामीले नेतृत्व दिनुपर्छ’, चौधरीले भन्नुभयो, ‘सकिन्छ भने संयुक्त व्यानरमा होइन भने फोरम लोकतान्त्रिकको झण्डा र व्यानरमा आन्दोलन हुन्छ । पूरा योजना बनाएका छौं । आन्दोलन शान्तिपूर्ण र व्यवस्थित हुन्छ ।’
प्रमुख चार दलको बैठकमा बसेर मधेशी र थारुका मागलाई नयाँ संविधानमा समावेश गराउन सक्रिय रुपमा लाग्नु भएका गच्छदार शनिबार रातिदेखि कांग्रेस, एमाले र एकीकृत माओवादीसँग रिसाएर बाहिरिनु भएको थियो ।
त्यसपछि गच्छदारले सडक रोज्नु भएको छ । यतिसम्मकी फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले संविधानसभाबाट संविधान निर्माणको प्रक्रिया नै छाड्ने निर्णय गर्नुभयो ।
दुई दिनयता तराई मधेशका लागि क्रान्तिकारी देखिनु भएका अध्यक्ष गच्छदारको दमदार वापसीले मधेश केन्द्रित दलहरूमा चिसो पसेको हुनुपर्छ ।
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवलाई गच्छदारको वापसीले भित्रभित्रै चित्त बुझेको छैन ।
गच्छदारको मधेश वापसी मधेशी मोर्चाका लागि टाउको दुःखाइ भएको छ । गच्छदार संविधान सभामा हुँदा फाइदा देखेको मधेशी मोर्चाले अब आफूलाई मधेशमा घाटा पुग्ने समीक्षा गर्न थालिसकेको छ ।
राजनीतिका माहिर खेलाडी गच्छदार पूरा योजना र शक्तिका साथ तराई र मधेशको अनियन्त्रित आन्दोलनलाई नियन्त्रणमा लिइ दिशा दिनुहुनेछ भन्ने राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।
तराई र मधेशको आन्दोलन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र थारु संयुक्त संघर्ष समितिको नियन्त्रण बाहिर गएको आरोप लाग्दै आएको छ ।

No comments:
Post a Comment